
काठमाडौँ — सरकारले दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समितिको म्याद दोस्रो पटक थप गरेको छ । साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिलाई १० दिनभित्र सत्यतथ्य पत्ता लगाइ राय सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो ।
तर, तोकिएको समयमा प्रतिवेदन पेस नभएपछि गृह मन्त्री बालकृष्ण खाँणले साउन २५ गते पहिलो पटक एक साताको म्याद बढाएका थिए । पहिलो पटक थपिएको अवधिमा पनि काम नसकिएपछि दोस्रो पटक मंगलबार थप एक साता म्याद थप गरिएको हो । गृह मन्त्रालयका अनुसार भदौ १५ गतेसम्म समितिको म्याद थपिएको छ ।