
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।
यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाइसकाे ट्रफी पाएका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।
किरण गजमेरले उपाधि जितेपछि पत्रकारहरुसंग कुरा गदै आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए । किरणले भने–‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । साथै उनले आफुले पाएको २५ लाख रुपैयाँबाट पुर्वी नेपालको शरणार्थी शिविरमा एउटा एम्बुलेन्स र पश्चिम नेपालको आवश्यक ठाउँको लागि एउटा एम्बुलेन्स किन्ने उनले घोषण गरेका छन् भने बचेको रकम कोभिड १९ को खोपको लागि सहयोग गर्ने र एक हजार रुपैयाँ सरस्वती माताको आशीर्वाद आफ्नी आमाको लागि लिनेे बताए ।
यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए । यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको थियो ।