
पञ्चदेवल न्युज
काठमाडौं। नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियूको राष्ट्रिय सम्मेलनको समय तोकिएको छ। नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले आगामी असोज ८ गतेदेखि १० गतेसम्म २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो।
संगठनको साउन २९ गते बसेको केन्द्रीय समिति बैठकले काठमाडौंमा सम्मेलन गर्नेगरी निर्णय गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रञ्जित तामाङले जानकारी दिए। त्यसका लागि भदौ १५ गतेभित्र इकाइ, क्याम्पस, पालिकाको भेला तथा सम्मेलन सम्पन्न गरिने भएको छ भने भदौ २५ देखि असोज १ गतेभित्र जिल्लाहरुको भेला तथा सम्मेलन सकिने छ। यस्तै सबै तहका भेला तथा सम्मेलनहरू सहमतिको आधारमा गरिने संगठनको निर्णय छ।
बैठकले राष्ट्रिय सम्मेलनका लागि विभिन्न समिति र उपसमिति समेत बनाएको अध्यक्ष तामाङले पत्रकार सम्मेलनमा जानकारी दिए। बैठकले चिकित्सा शिक्षा आयोगद्वारा मेडिकल र पारामेडिकल अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा क्षमताभन्दा थोरै विद्यार्थी उत्तीर्ण गराइएकाले पुनः प्रवेश परीक्षाको मिति सार्वजनिक गरी विद्यार्थीहरुलाई देशभित्रै अध्ययनको वातावरण मिलाउन माग गरेको छ। यस्तै मध्यपश्चिम विश्वविद्यालयमा भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उपकुलपतिलाई तत्काल बर्खास्त गर्न माग गरिएको छ।

