
काठमाडौं— प्रशासनको गम्भीर लापरबाहीको कारण नेपाल कमर्स क्याम्पसमा ब्याचलर अफ बिजनेश स्टडिज (बीबीएस) दोस्रो वर्षमा अध्ययनरत ६३ जना विद्यार्थी वार्षिक परीक्षा दिनबाट बञ्चित भएका छन् ।
सोमबारबाट बीबीएस दोस्रो वर्षको परीक्षा सुरु भएको छ । तर उनीहरू परीक्षामा सहभागि हुन पाएनन् । कारण ६३ जना विद्यार्थीको परीक्षा फारम क्याम्पस मै छ । परीक्षा फारम त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बुझाएपछि मात्र प्रवेशपत्र आउँछ । फारम बल्खु नपुगेपछि ६३ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका हुन् ।
क्याम्पसको गम्भीर लापरबाहीले आफूले परीक्षा दिन नपाएको भन्दै पीडित विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । क्याम्पस प्रशासन भने यस विषयमा मौन छ । स्रोतका अनुसार छात्रवृत्ति कोटामा फारम बुझाइदिने भन्दै विद्यार्थी नेताहरूबाट पीडितले आश्वास पाएका थिए । सोही अनुसार परीक्षा फारम भरेर उनीहरूले विद्यार्थी नेताहरूलाई बुझाए ।
तर शुल्क नबुझाएको भन्दै क्याम्पसले उक्त फारम बल्खु नपठाएको हो । स्रोत भन्छ, ‘यो प्रकरणमा विद्यार्थीबाट नेताहरूले पैसा लिएर फारम छात्रवृत्तिमा मिलाउन खोजेको देखिन्छ । क्याम्पस प्रशासन र विद्यार्थी नेताहरूको कुरो नमिलेपछि क्याम्पसले उनीहरू कै फारम रोकिदियो ।’
स्रोतका अनुसार यो प्रकरणमा सबै प्रमुख ठुला दलका विद्यार्थी नेताहरू सामेल छन् । स्रोत भन्छ, ‘यति मात्र होइन अन्य विद्यार्थीहरू पनि पीडित छन् । यसमा छानविन हुनुपर्छ ।’