
२१ चैत्र काठमाडौं ।
नेपालले राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ। सोमबार भएको उपाधि भिडन्तमा पिएनजीलाई ५० रनले हराउँदै नेपालले उपाधि रक्षा गरेको हो।
नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पिएनजी १६.२ ओभरमा अलआउट हुँदै ११८ रनमा समेटियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेटको क्षतिमा १६८ रन जोड्यो।
नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे। उनले नटआउट ५४ रन जोडे। टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गरेका दीपेन्द्रले खेलमा ३८ बल खेलेर ५ चौका हिर्काए।
करण केसीले पनि उत्कृष्ट ब्याटिङ गरे। उनले १२ बलमा नटआउट ३३ रन जोडे। करणले ५ चौका र १ छक्का प्रहार गरे। करण र दीपेन्द्रबीच अन्तिम चार ओभरमा ५६ रनको साझेदारी भएको थियो।नेपालका ओपनरद्वय कुशल भुर्तेल २५ रन र आसिफ शेख २९ रनमा आउट भएका थिए।
रोहित पौडेलले २ रन भन्दा बढी जोड्न सकेनन्।
आसिफ र दीपेन्द्रबीच तेस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो।
नेपालले १२औं ओभरमा तीन विकेट गुमाएको थियो। आसिफ पहिलो बलमा आउट भएका थिए। तेस्रो बलमा आरिफ शेख र पाँचौ बलमा दिलीप नाथ शून्यमा आउट भए। यो ओभरमा पिएनजीका सेमो कामिआले पाँच बलको अन्तरमा तीन विकेट लिएका थिए भने कुनै रन दिएनन्।
सेमोविरूद्ध पहिलो ओभरमा नेपालका ओपनर कुशल भुर्तेलले ३ चौकासहित १३ रन जोडेका थिए।
१६ औं ओभरको अन्तिम बलमा आदिल अन्सारी १५ रनमा आउट भए। उनले १३ बलमा १ चौका र १ छक्का हिर्काए।